Tuesday, May 31, 2011

New Interview of Nisha Adhikari From Merocinema.Com

नायिकाहरु टिक्न सक्नुहुन्न भने दोष निर्माताको हो - , निशा अधिकारी
, मेरोसिनेमा काठमाडौं १२ वैशाख

nisha_adhikari_in_400_01निशा अधिकारी समकालिन नेपाली सिनेमाकी लोकप्रिय, सुन्दरतम र सशक्त अभिनेत्री हुन् । सैद्धान्तिक अध्ययनपछि सिनेमा करियर थालनी गरेकी फस्टलभ स्टार यतिबेला अर्को एक अफविट प्रोजेक्टमा व्यस्त छिन् । हालै उनी अमेरिकामा सिनेमा कोस्र अध्ययन गरी स्वदेश फर्किएकी छिन् र सिनेमा सिद्धान्तलाई व्यवहारमा उतार्न व्यस्त छिन् । उनीसँग तीन महत्वपूर्ण सिनेमा पाइपलाइनमा छन् । मेरोसिनेमा पपुलर अवार्डमा स्थापित ठानिएका अभिनेत्रीहरुलाई चुनौति दिएकी नव-अभिनेत्री अधिकारीसँग मेरोसिनेमा संवाददाता विष्णु शर्माले संवाद गरेका थिए ।

नेपाली सिनेमा अभिनेत्रीहरुमा आत्मनिर्भर भैसकेको छैन । यो रिक्ततालाई पूर्ति गर्न तपाईंको भूमिका कस्तो हुनेछ ?
कुनै क्षेत्रमा लागिसकेपछि त्यसको व्यावसायिक विकास जरुरी छ । यो पेशामा लागेदेखि मेरो एउटै इच्छा भनेको महिलाको स्थान र भूमिका जुन छ त्यसलाई उकास्न हरदम योगदान गर्ने नै हो । महिलाको अर्थ अभिनेत्री, हेयरड्रेसर, मेकअपवुमन जुनसुकै पोर्टफोलियोको हुनसक्नुहुन्छ । त्यही अनुरुप म लागि नै रहेको छु । कुनैपनि काम गर्दा अलिकति चुनौति भै हाल्छ नै । मलाई मेकिङतिर पनि रुचि भएकाले हेरौं महिलाको भूमिकामा पनि आफू महिला भएर त्यही अनुरुप अघि बढ्ने संकल्प पालेकी छु । पाँचवर्ष भयो यो क्षेत्रमा लागेको । सुरुका दिनमा निकै संघर्ष गर्नुपर्‍यो । जस्तो : यो क्षेत्र नराम्रो होइन राम्रो गर्न सकिन्छ भन्ने कन्भिन्स । ती सुरुआती संघर्ष र चुनौतिहरु केही हदसम्म पार गरेकी छु भन्ने लाग्छ अहिले आएर । जसरी मलाई मान्छेहरुले ग्रहण गर्नुभएको छ अर्थात मैले जे काम सुरु गरेँ त्यसलाई नै अझ राम्रोसँग र ढृढतापूर्वक अगाडि बढाउने मेरो धारणा छ ।

थुप्रै प्रोजेक्टका प्रस्तावहरुलाई लत्याएर किन विज्ञापन र म्युजिक भिडियोहरुमा व्यस्त हुनुभएको ? ती प्रोजेक्टमा किन साइन गर्नुभएन ?
म्युजिक भिडियो क्षणिक हुन्छ । दर्शकले हेर्छन । नयाँ गीतहरु आइरहन्छन् । म त्यस्ता सिनेमाहरुको अंशियार बन्न रुचाउँछु जुन चलचित्रहरुले यो क्षेत्रलाई कुनै न कुनै रुपमा टेवा पुर्‍याइरहेका छन् । मेरो पहिलो प्रोजेक्ट हेर्ने हो भने मिसन पैसा प्राविधिकरुपमा नयाँ थियो । नैना रेशम सबै वर्ग र उमेर समूहका दर्शकका लागि थियो । जुन बेला उद्योगमा व्यावसायिक संकट थियो त्यतिबेला फस्टलभले राम्रो भूमिका खेल्यो । पल पूर्णरुपमा सामाजिक र खोजमूलक सिनेमा हो । त्यसैले म चाहिँ पुरानै अर्थात कमर्सिएल धार भन्दा पनि यस्तो टीमसँग काम गर्न पाउँ जुन टीमवर्कको उत्पादनले हाम्रो सिनेमा क्षेत्रलाई कुनै न कुनै रुपमा योगदान र कोशेढुंगाको काम गरोस् । त्यसखालका प्रोजेक्ट आयो भने म चाहिँ एकदमै मिहेनतका साथ काम गर्छु । त्यसैले एकदम चुजी भएकी छु । सिनेमा एकपटक रिलिज भएपछि धेरै पछिसम्म रहन्छ । त्यसैले पनि जुन पायो त्यही सिनेमा नगरौं भन्ने मेरो धारणा हो ।

तपाईं अभिनित सिनेमा अफविट र कमर्सिएल दुवै शैलीमा निर्मित छन् । आफू कुन निर्माण शैलीमा बनेको सिनेमाकी अभिनेत्री हुँ भनेर उल्लेख गर्नुहुन्छ ?
मूलतः हामीले यो/ऊ प्यार्टनको सिनेमा भन्छौं । प्रविधिगतरुपमा पनि हामीले विभाजन गरेका छौं । म चाहिँ यस्तो कुराको पूर्ण विपक्षमा छु । एक त यो क्षेत्र व्यावसायिक र स्थापित हुन संघर्ष गरिरहेको क्षेत्र हो । अर्कोतर्फ आयतन सानो छ । नेपाली बजार पनि सानो छ । यस्तो क्षेत्रमा पनि हरेक कुरालाई विभाजन गरेर अघि बढ्नु राम्रो होइन । त्यही अनुरुप मैले मेरो कामलाई त्यसरी विभाजन गरेको छैन । मलाई कुनैपनि प्यार्टनमा आबद्ध हुनुपनि छैन । त्यसैले मलाई एउटा राम्रो कलाकार कुशल अभिनेत्री जसले जुनसुकै भूमिका पनि गर्न सकोस् । यसरी नै चिनून जस्तो लाग्छ मलाई फिल्म क्षेत्रमा ।

तपाईं अभिनेत्री मोडल, संचारकर्मी र व्यावसायी पनि हुनुहुन्छ । यस्तो लाग्छ -तपाईं अस्थिर पात्र हो । किन अस्थिर बन्नुभएको ?

हुन त मैले धेरै क्षेत्रमा हात हालेको छु । तर सबै कुरा क्रमिक रुपमा नै भएको छ । जस्तै एउटा सुन्दरी प्रतियोगितामा दर्शकको अगाडि आफूलाई प्रस्तुत र देशको प्रतिनिधित्व गर्न सक्नु । टेलिभिजनकर्मीको रुपमा आफूलाई स्थापित गर्नसक्नु । क्रमिकरुपमा आफूलाई मैले विकास गर्दै लगेको हो । जस्तै : भिजेइङ अलिकति सानो स्केलको भयो । म्युजिक भिडियो र सिरियलहरु पनि उस्तै हुन् । त्यसको अलिकति ठूलो स्केल त हो नि सिनेमा भनेको । आमजनताबीच जाने भनौं या जेसुकै भनौं । मैले जतिसुकै फिल्डमा हात हालेपनि म कलाकारिता मै छु । कला क्षेत्रमा छु । म्युजिक भिडियो पनि कलाक्षेत्रमै पर्छ । मेगाआर्ट हो सिनेमा । त्यसैले हरेक कुरा बढाउँदा मैले सिनेमातिर हात हालेकी हुँ । उत्तिकै रुचिको क्षेत्र पनि भएको कारणले गर्दाखेरी मलाई म्युजिक भिडियो होस् वा टेलिभिजन होस । टेलभिजन त मलाई एकदमै मनपर्ने क्षेत्र हो । जे भएपनि यो सबैको परिणाम भनेको दर्शकमाझ आउनु हो । यो क्षेत्र फरक भएपनि अन्त्यमा निष्कर्ष एउटै हुन आउँछ । जहाँसम्म व्यावसायको कुरा छ । यो क्षेत्रमा लागिसकेपछि मलाई चाहिँ स्क्रिनमा आएर हराउनु छैन । विस्तारै ब्यापार र पर्दा पछाडी दुवै ठाउँमा महिलाहरुको उत्थानको लागि केही न केही गर्ने सोचमा छु । आफू पनि आर्थिकरुपमा बलियो र आत्मनिर्भर हुनका लागि अर्को क्षेत्रमा हात हालेकी हुँ ।

आगामी केही वर्षसम्म तपाईंका कार्ययोजना व्यस्त छन् भन्ने सुनिन्छ नि ?
यो क्षेत्रमा योजना अनुसारको काम कहिल्यै हुँदैन । यो वर्षको अगस्टमा मेरो अर्को सिनेमा छ -स्नो फ्लावर्ज । त्यो अन्तिम भैसकेको छ । त्यसैले अबको दुईवर्षसम्म त म पूर्णरुपमा सिनेमामा लाग्ने हो । दुईवर्षभन्दा माथिको समयका लागि त मैले योजना नै बनाएको छैन । त्यो समयसम्म पूर्णरुपमा सिनेमामा लाग्ने र राम्रा-राम्रा प्रोजेक्टमा काम गर्ने हो । मेकिङको पनि अनुभव बटुल्नु छ । म्युजिक भिडियो निर्देशन गर्नतिर लाग्दैछु । सुरु गरेको बिज्नेसलाई ठूलो स्केलमा लैजाने । साथै टेलिभिजनमा कार्यक्रम ल्याउने र पढाइलाई पनि निरन्तरता दिने । यी चाहिँ मेरो दुईवर्षका योजना हुन् ।

अमेरिकामा सिनेमा अध्ययनका क्रममा के-के कुरा सिक्नुभयो ? अब सिकेका कुरालाई स्वदेशी उद्योगमा कार्यान्वयन गर्न के गर्नुहुन्छ ?

मुख्यकुरा अमेरिकीहरुले जसरी काम गछन् -त्यसलाई काम गर्ने वातावरण भन्छौं हामी । मैले नेपालमा पनि फिल्महरुमा काम गरी सकेर त्यहाँको वातावरणमा काम गर्दाखेरी कसरी काम गर्नुहँदो रहेछ र प्राविधिकहरुको भूमिका पूर्णरुपमा भिन्न हुँदो रहेछ भन्ने लाग्यो । उहाँहरुमा जुन व्यावसायिकता छ- १५ मिनेट ढिला भयो भने पनि आगो हुने । जसरी उहाँहरुले व्यवस्थित ढंगले काम गर्नुहुन्छ -त्यो कुरा यहाँ आएर मैले फिल्म क्षेत्रमा मात्र होइन् अन्य जुनसुकै क्षेत्रमा पनि लागु गर्न सकिन्छ । फिल्म मेकिङमा नेपालमा पनि सबै कामकुरा गरेको त देखेको थिएँ तर त्यहाँ गएर किन र कसरी ? भन्ने सवाल सोधेँ र बुझें पनि । किनमा थुप्रै उत्तरहरु भेटाएँ मैले । अभिनेत्रीको रुपमा पनि मैले यहाँ कार्यान्वयन गर्न सक्छु । क्यामेराको एङ्गल, क्लोज सट्, लङ सट् लिएको थाहा हुन्छ । यस्तो गर्दा के पनि थाहा हुँदो रहेछ भने एउटा निर्देशक, छायांकार र अभिनेत्री बीचको संचार एकदुई प्राविधिक शब्दमै टुंगिन्छ अहिले । नत्र सबै कुरा पहिले बताउनुपथ्र्यो । अभिनेत्रीका रुपमा फाइदा भएको छ । भर्खरै त आएको छु । हेरौं न बिस्तारै त्यसलाई कार्यान्वयन गर्ने प्रयास गर्नेछु ।

सारमा अमेरिका र नेपालको सिनेमा अध्ययनको क्रममा कस्ता भिन्नताहरु पाउनुभयो ?
कुनै कुरा जति गर्‍यो त्यति निखारिन्छ भनेर हामीले प्राविधिक लाइनलाई भन्छौं । त्यस्तै फिल्म मेकिङमा मैले जानेको कुरा पढाइ मात्र भएर पनि हुँदो रहेनछ । तर फिल्म मेकिङको आधार उही हो । अनुभव मात्र बटुलेर पनि हुँदो रहेनछ । मैले देखेको के हो भने हामीकहाँ मानौं एउटा निर्देशक हुनुहन्छ । उहाँको आफ्नै शैली छ । एकजना उहाँको सहायक पनि हुनुहुन्छ । सिक्दा-सिक्दै उहाँले पनि भोली गएर निर्देशन गर्न थाल्नुहुन्छ । किनकी गुरुबाट जे सिकेको हो आफूले पनि त्यही उतार्ने हो । त्यसो गर्दा पढाइ र अनुभवको सन्तुलन चाहिने रहेछ । आफ्नो बजारको अध्ययन के भैरहेको छ ? विश्व सिनेमामा के भैरहेको छ ? फिल्म फेस्टिभलहरु कहाँ-कहाँ के-के भैरहेका छन् ? त्यसको ज्ञान हुनु एकदमै जरुरी छ जस्तो लाग्छ मलाई ।

घरजम कहिले गर्ने ? किनभने समकालिन नेपाली सिनेमामा अभिनेत्रीहरु विहे पछि पनि स्थापित भैरहेका छन् ।

दुईवर्षसम्म विवाह भन्ने कुरा मेरो दिमागमा छैन । के पनि भनिन्छ भने विवाह भनेको योजना गर्ने कुरा पनि होइन । म एकदमै पारिवारिक संरचना र महत्वमा मान्यता राख्ने महिला पनि भएकीले मलाई सेल्डम हुन मन छ । आफ्नो बालबच्चा हुर्काउन मन छ । एउटा केटीको सामान्य सपना जे हुन्छ मेरो पनि छ । तर अहिलेका लागि मैले जे काम सुरु गरेको छ मेरो ध्यान र लगन् त्यही काममा छ । त्यसको कुनै न कुनै निष्कर्षमा पुगेर विवाह गर्न पाए हुन्थ्योजस्तो लाग्छ मलाई ।

तपाईंको नाम प्रायः निर्देशक नीरक पौडेलसँग जोडेर चर्चा गरिन्छ । गोपीकृष्ण मूभिजसँग पनि नजिक हुनुहुन्छ भनिन्छ । यो सम्बन्धबारे पुष्टि गरिदिनुस न ।
म यो क्षेत्रमा लाग्नु अगाडि देखिकै साथी हो ऊ मेरो । हामीले ए लेभल गर्दाखेरीकै साथी हो नीरक । ऊ बाहिर पढेर आयो । यहाँको सिनेमामा काम गर्ने धारणा थियो उसको । नयाँ कुसुमेरुमाल पनि गर्‍यो । मेरा साथीहरु जोसँग कहिलेकाहीं ह्याङआउट्स पनि गर्छौ जस्तै : फस्टलभदेखिका कर्म, विनय दाई, राजवल्लभ कोइराला भयो । जसरी मिडिया क्षेत्रमा लागेपछि मिडिया क्षेत्रकै साथी बनाउन गाह्रो हुन्छ । त्यसैले वेभलेङ्थ मिल्ने साथीहरुमा पर्ने नाम हो -नीरक पौडेल । त्यो बाहेक अरु केही पनि होइन ।

अभिनेत्रीहरु आउने र हराउने क्रम जारी छ । ती अभिनेत्रीहरुको तुलनामा निशा अधिकारी कुन अर्थमा भिन्न नाम हो ?
हामीले जहिले पनि एक्टिभ टेन्स लगाउँछौं । प्यासिभ टेन्स लगाउँदैनौं । त्यसमा चाहिँ मेरो एउटा ठूलो गुनासो छ । नायिकाहरुको सन्दर्भमा पनि उनीहरु आए/गए अर्थात नायिकाहरु पलायन भए । त्यो एउटा वाक्यको पछाडि नायिकाहरु किन आएर जान्छन् त ? त्यो परिस्थिती कस्तो छ  करियरका लागि संघर्षरत महिलालाई प्लेटफर्म किन बनाउन सकिएको छैन ? हाम्रो उद्योगको कुरा गर्ने हो भने अधिकांश महिला सिनेमाकर्मी पुरुषद्वारा नै दमित भएको पाउँछौं -संख्यात्मक र मानसिक रुपमा पनि । मिडियामा केही राम्रो भएको छ । फिल्ममा अहिले पनि उस्तै छ । त्यसैले अलिकति शिक्षित मान्छेहरु भएर, महिलालाई पनि सम्मान गरेर, सामाजिक अन्तरविरोध अनुसार त्यो सँग पनि लड्ने क्षमता यो क्षेत्रले प्रदान गर्नुपर्‍यो । मलाई लाग्दैन कि समाज आजभोली नै परिवर्तन हुन्छ तर यो क्षेत्र राम्रो छ भनिदिने धरातल र अवसर प्रदान गरिदिनुपर्‍यो । किनभने उहाँहरु त नायिका हो निर्माता त होइन । यदि नायिकाहरु टिक्न सक्नुहुन्न भने दोष निर्माताको पनि हो किनभने निर्माताले त्यस्तो प्लेटफर्म सिर्जना गर्नै सक्नुभएको छैन । तीनचारवर्षको परिवेश हेर्ने हो भने मलाई जतिपनि फिल्महरुको अफर आएको छ -जस्तै अपवाद भयो । सुरज सुब्बाले अर्को गरौं भन्नुभएको छ । यही वर्ष नै दुईतीनवटा भिन्न धारका सिनेमा र एकदम राम्रा सिनेमाको प्रस्ताव छ । यो भनेको के पनि हो भने निर्माताहरुले जसरी नायिकाहरुलाई प्रस्तुत गर्नु हुन्छ नि त्यो पनि पूर्णरुपमा बदलिँदै छ । मेरै हातमा तीनचारवटा अफविट सिनेमा पर्नुभनेको ठूलो कुरा हो । यो वर्ष राम्रा सिनेमाको वृद्धि भएको छ । हामीले पानीको छाल भएर होइन कि बलियो भएर टिकेर सँगै सम्मान जोगाएर संख्यात्मक भन्दा पनि गुणस्तरमा बसेर ध्यान दिन सक्नुपर्छ । सुरुआत भैसकेको छ । म चाहिँ एक्लै सक्दिन । एकतामा मात्र सम्भव छ ।

No comments:

Post a Comment